नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ चैत ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजमा युएईले नेपाललाई जितको लागि १६९ रनको लक्ष्य दिएको छ । युएईको सारजाह क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६.३ ओभरमा १६८ रनमा समेटियो ।
उसका लागि रोहण मुस्तफा र चुन्दंगापोयिल रिजवानले समान ४०-४० रन बनाए भने मुहम्मद वासीमले २१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनिय रहेन । नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने करण केसीको नाममा ३ विकेट रह्यो । त्यस्तै कप्तान सन्दीप लामिछाने, सागर ढकाल र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।
नेपाल आज युएईलाई हराउँदै सिरिजमा दोस्रो जित हात पार्ने पक्षमा रहेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै युएई पनि सिरिजमा सुखद सुरुवात गर्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो। जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो ।
नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै आज दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ र सिरिजको अन्तिम खेल मार्च २२ मा पीएनजीविरुद्ध खेल्नेछ । विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् । नेपाल ९ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १५ खेलमा १८ अंक जोडेको दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा जितविहिन रहेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।