नेपाल युएईसँग पराजित

नेपालको खराब ब्याटिङ कायमै

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ । आज (शुक्रबार) भएको खेलमा नेपाल युएईसँग ४८ रनले पराजित हुन पुग्यो ।

त्यसअघि युएईको सारजाह क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रनमा समेटियो । उसका लागि रोहण मुस्तफा र चुन्दंगापोयिल रिजवानले समान ४०-४० रन बनाए भने मुहम्मद वासीमले २१ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने करण केसीको नाममा ३ विकेट रह्यो । त्यस्तै कप्तान सन्दीप लामिछाने, सागर ढकाल र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



१६८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३५.१ ओभरमा १२० रनमा अलआउट भयो । नेपालको लागि रोहित कुमार पौडेलले ४६ रन बनाए भने ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । युएईको लागि बसिल हमेदले ४ विकेट लिए भने जुनेद सिद्दिकीको भागमा ३ विकेट रह्यो । त्यस्तै रोहण मुस्तफा र जाहुर खानको नाममा समान १-१ विकेट रह्यो । खेलको म्यान अफ दि म्याच रोहण मुस्तफा भए ।

नेपाल आज युएईलाई हराउँदै सिरिजमा दोस्रो जित हात पार्न असफल रहेको छ । त्यस्तै नेपाललाई पराजित गर्दै युएई सिरिजमा सुखद सुरुवात गरेको छ । नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले पराजित गरेको थियो । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो । जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । नेपालले सिरिजमा यूएई र पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्नेछ । त्यस्तै अब नेपालले तेस्रो खेल यूएईविरुद्ध नै मार्च २१ र सिरिजको अन्तिम खेल मार्च २२ मा पीएनजीविरुद्ध खेल्नेछ । विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् ।

 

सम्बन्धित समाचार