नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ चैत ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा आज (मंगलबार) नेपाल र पपुवा न्युगिनी (पीएनजी) भिड्दै छन् । युएईको दुबई क्रिकेट रंगशालामा हुने खेल नेपाली समय अनुसार बिहान ११: १५ बजे सुरु हुनेछ ।
नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्ने योजनमा रहेको छ भने पीएनजी पनि नेपाललाई पराजित गर्दै सिरिज अन्त्य सुखद बनाउने योजनाका साथ मैदान उत्रदै छ । पीएनजीविरुद्ध यसअघि तीन एकदिवसीय खेल खेलेको नेपालले सबै खेलमा जित निकालेको छ । जारी सिरिजमा पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको नेपाल दोस्रो तथा तेस्रो खेलमा घरेलु टोली युएईसँग क्रमश: ४८ र ९९ रनले पराजित भएको थियो ।
त्यस्तै पीएनजी पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ७ विकेटले र तेस्रो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो । जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् । नेपाल ११ खेलमा १० अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १८ खेलमा २२ अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ । यसैगरी १५ खेलमा १ जित निकालेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।