नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ चैत ।
आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको एकदिवसीय सिरिजको चौथों तथा अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) माथि जित निकालेको छ । आज (मंगलबार) भएको खेलमा नेपालले पीएनजीलाई ७ विकेटले पराजित गरेको हो ।
युएईको दुबई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १७३ रन बनायो । उसका लागि कप्तान असाद भालाले ४५ रन बनाए भने सेसे बाउले १९ रन जोडे । त्यस्तै नोर्मन भानुवा १८ रन बनाई आउट भए भने चाड सोपर र काबुआ मोरे क्रमश: २२ र १७ रनमा अविजित रहे । नेपालको लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिए भने करण केसी, दिपेन्द्र सिंह ऎरी, पवन सराफ र आरिफ शेखको भागमा समान १-१ विकेट रह्यो ।
१७४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३७ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । नेपालका लागि आरिफ शेख र कुशल भुर्तेलले क्रमश: ५९ र ५० रनको अर्धशतकीय पारि खेले भने रोहित कुमार पौडेलले ४४ रनमा अविजित रहे । पीएनजीको लागि चार्ल्स अमिनीले २ विकेट लिए भने काबुआ मोरेको भागमा १ विकेट रह्यो । नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद अन्त्य गरेको छ भने पीएनजी भने हारबाट सिरिजको अन्त्य गरेको छ । जारी सिरिजमा पहिलो खेलमा पीएनजीलाई २ विकेटले हराएको नेपाल दोस्रो तथा तेस्रो खेलमा घरेलु टोली युएईसँग क्रमश: ४८ र ९९ रनले पराजित भएको थियो ।
त्यस्तै पीएनजी पहिलो खेलमा नेपालसँग पराजित भएको थियो भने दोस्रो खेलमा युएईसँग ७ विकेटले र तेस्रो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो । सिरिजअघि नेपालले श्रीलंकामा ३ अभ्यास खेल खेलेको थियो । जसमा २ मा जित र १ खेलमा हार व्यहोरेको थियो । विश्वकप क्रिकेट लिग–२ मा कुल ७ टिम सहभागी रहेका छन् । नेपाल १२ खेलमा १२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने १८ खेलमा २२ अंक जोडेको युएई दोस्रो स्थानमा रहेको छ । यसैगरी १५ खेलमा १ जित निकालेको पीएनजी तालिकाको पुछारमा रहेको छ ।