नवकान्तिपुर संवाददाता
काठमाडौं, १० चैत ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्याण्ड भिड्दै छन् । आज (बिहीबार) नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो ।
थाइल्याण्डको घरेलु मैदान चोनबरीमा हुने खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । यसअघिको नतिजा हेर्ने हो भने दुई भेटमा नेपालविरुद्ध थाइल्याण्ड विजयी भएको थियो । एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो । फिफा वरियता र तुलनात्मक रुपमा समेत बलियो देखिएको थाइल्याण्डविरुद्ध नेपाल किरणकुमार लिम्बूको कप्तानीमा मैदान उत्रनेछ। हाल थाइल्यान्ड फिफा वरियताको ११२औँ स्थानमा छ भने नेपाल १६७औँ स्थानमा छ।
त्यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि आइतबार मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।नेपाल एसियन कप छनोटमा समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा नेपाल सहित बलिया प्रतिद्वन्दी कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । कुवेतमा आयोजना हुने उक्त खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले पहिलो खेल जुन ८ मा जोर्डनसँग दोस्रो खेल जुन ११ मा कुवेतसँग र तेस्रो तथा अन्तिम खेल इन्डोनेसियासँग जुन १४ मा खेल्नेछ ।