पीएनजीद्वारा नेपाल सामू २९३ रनको लक्ष्य प्रस्तुत

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय क्रिकेटमा पीएनजीले नेपाल सामू २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २९२ रन बनायो ।

उसका लागि चार्ल्स अमिनी र कप्तान असद भालाले क्रमश:७७ र ६० रनको अर्धशतकीय पारी खेले भने नोर्मन भानुआले ४७ रन बनाए । त्यस्तै राइली हेकुरे ३१ रन बनाई आउट भए भने जेसन किला १३ रनमा अविजित रहे । नेपालको लागि सोमपाल कामी, कमल सिंह ऐरी र दिपेन्द्र सिंह ऐरीले समान २-२ विकेट लिए भने सन्दीप लामिछाने र पवन सराफको भागमा समान १-१ विकेट रह्यो ।



नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्ने योजनामा रहेको छ भने पीएनजी पनि नेपाललाई उसकै घरेलु मैदानमा हराउने योजनाका साथ मैदान उत्रदै छ । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । नेपाल र पीएनजीको दोस्रो खेल शनिबार हुनेछ । हालै युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको पीएनजी नेपाल भ्रमणमा आएको हो ।

उक्त सिरिजमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा नेपालसँग २ विकेटले र दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २५ देखि अप्रिल चार सम्म नेपालले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालले मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग दुई एकदिवसिय सिरिज खेल्नेछ भने मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिएको छ ।

सम्बन्धित समाचार