नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ चैत ।
पपुवा न्युगिनी (पीएनजी) विरुद्धको एकदिवसीय क्रिकेटमा नेपालले पीएनजी सामू २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २७८ रन बनायो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । १४० बलको सामना गरेका ऐरीले ७ चौकाको मद्दतमा १०७ रन बनाए । योसँगै एकदिवसीय क्रिकेटमा ऐरी नेपालबाट शतक हान्ने तेस्रो खेलाडी बनेका छन् । यस अघि नेपालबाट पारस खड्का र रोहित कुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका थिए । रोहितले शुक्रबार पीएनजीविरुद्ध १२७ रनको शतकीय इनिंग्स खेलेका थिए ।
त्यस्तै देव खनालले ७२ रनको अर्धशतकीय पारी खेले भने रोहित कुमार पौडेलले ३५ रन बनाए । यस्तै भीम शर्की २६ रन बनाई आउट भए भने सन्दीप लामिछानेले ९ बलमा २४ रन जोडे । पीएनजीको लागि अली नाओले ३ विकेट लिए भने नोर्मन भानुआको भागमा २ विकेट रह्यो । नेपाल आज पीएनजीलाई हराउँदै सिरिज सिरिज जोगाउने योजनामा रहेको छ भने पीएनजी पनि नेपाललाई उसकै घरेलु मैदानमा लगातार हराउने योजनाका साथ मैदान उत्रदै छ । शुक्रबार भएको खेलमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको थियो । नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । हालै युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको पीएनजी नेपाल भ्रमणमा आएको हो ।
उक्त सिरिजमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा नेपालसँग २ विकेटले र दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २५ देखि अप्रिल चार सम्म नेपालले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । यस्तै मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिएको छ ।