नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ चैत ।
नेपाल विरुद्धको एकदिवसीय क्रिकेट सिरिज पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) ले क्लिन स्विप गरेको छ । आज (शनिबार) भएको खेलमा नेपाललाई ३ विकेटले पराजित गर्दै दुई खेलको एकदिवसीय क्रिकेट सिरिज पीएनजीले २-० ले जितेको हो । यसअघि शुक्रबार भएको पहिलो खेलमा पीएनजीले नेपाललाई ६ रनले पराजित गरेको थियो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै २७८ रन बनायो ।नेपालका लागि दिपेन्द्र सिंह ऐरीले शतकीय पारी खेले । १४० बलको सामना गरेका ऐरीले ७ चौकाको मद्दतमा १०७ रन बनाए । योसँगै एकदिवसीय क्रिकेटमा ऐरी नेपालबाट शतक हान्ने तेस्रो खेलाडी बनेका छन् । यस अघि नेपालबाट पारस खड्का र रोहित कुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक प्रहार गरेका थिए । रोहितले शुक्रबार पीएनजीविरुद्ध १२७ रनको शतकीय इनिंग्स खेलेका थिए ।
त्यस्तै देव खनालले ७२ रनको अर्धशतकीय पारी खेले भने रोहित कुमार पौडेलले ३५ रन बनाए । यस्तै भीम शर्की २६ रन बनाई आउट भए भने सन्दीप लामिछानेले ९ बलमा २४ रन जोडे । पीएनजीको लागि अली नाओले ३ विकेट लिए भने नोर्मन भानुआको भागमा २ विकेट रह्यो ।
२७९ रनको लक्ष्य लिएर मैदान उत्रेको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो । पीएनजीका लागि लिगा सिकाले ९० रनको अर्धशतकीय पारी खेले भने रिले हेकुरे ४८ रनमा अविजित रहे । त्यस्तै सेसे बाउ ३८ रन बनाई आउट भए भने चार्ल्स अमिनीले ३५ रन जोडे ।
नेपालको लागि सोमपाल कामीले ३ विकेट लिए भने पवन सराफको भागमा २ विकेट रह्यो । त्यस्तै सन्दीप लामिछाने र आरिफ शेखले समान १-१ विकेट लिए ।
नेपालसँग दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपाल आएको हो । हालै युएईमा भएको आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेको पीएनजी नेपाल भ्रमणमा आएको हो ।
उक्त सिरिजमा नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको थियो । पीएनजी पहिलो खेलमा नेपालसँग २ विकेटले र दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मार्च २५ देखि अप्रिल चार सम्म नेपालले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्नेछ । यस्तै मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग त्रिकोणात्मक टी–ट्वान्टी सिरिज खेल्दै छ । नेपालले यस सिरिजमा नयाँ र युवा खेलाडीलाई अवसर दिएको छ ।
सन्दीपको ५० विकेट पूरा
आज १ विकेट लिएसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम इनिङ्समा ५० रन बनाउने विश्वकै दोस्रो खेलाडी बने । उनले २२ खेलमा ५० विकेट लिएका हुन् । सन्दीप भन्दा अगाडी श्रीलंकाका अजन्था मेन्डिस रहेका छन् । उनले १९ खेलमा ५० विकेट लिएका थिए ।