नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ चैत ।
अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र थाइल्याण्डको क्लब चोनबरी एफसी भिड्दै छन् । आज (आइतबार) नेपाली राष्ट्रिय फुटबल टोलीले घरेलु टोली थाइल्याण्डको क्लब चोनबरी एफसीको सामना गर्न लागेको हो ।
थाइल्याण्डको घरेलु मैदान चोनबरीमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ :४५ बजे सुरु हुनेछ । यसअघि थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेलेको नेपाल २-० ले पराजित भएको थियो । नेपाल आज थाइ क्लबविरुद्ध जित निकाल्ने योजनामा हुनेछ भने घरेलु टोली पनि नेपाललाई पराजित गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ ।
एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेलेको हो । नेपाल एसियन कप छनोटमा समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा नेपाल सहित बलिया प्रतिद्वन्दी कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । कुवेतमा आयोजना हुने उक्त खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले पहिलो खेल जुन ८ मा जोर्डनसँग दोस्रो खेल जुन ११ मा कुवेतसँग र तेस्रो तथा अन्तिम खेल इन्डोनेसियासँग जुन १४ मा खेल्नेछ ।