प्रधानमन्त्रीसँग महन्थ ठाकुरले मागे चार मन्त्रालय, प्रचण्डको असन्तुष्टि

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन् । प्रधानमन्त्री देउवाले भारत भ्रमणमा जानुअघि नै लोसपालाई सरकारमा ल्याउने तयारी थालेका हुन् । यसबीच उनीहरुबीच निरन्तर सम्बादसमेत भइरहेको छ ।

बालुवाटार स्रोतका अनुसार आइतबार दिउँसो प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको छ । भेटवार्तामा ठाकुरले प्रधानमन्त्रीसँग चार मन्त्रालय मागेको स्रोतको भनाइ छ । ‘प्रधानमन्त्री र ठाकुरबीच दिउँसो सरकारमा सहभागी हुने विषयमा छलफल भयो । छलफलमा अध्यक्ष ठाकुरले चार मन्त्रालय दाबी गर्नुभएको छ,’ स्रोतले भन्यो । प्रधानमन्त्री देउवाले दुई मन्त्रालय दिएर लोसपालाई सरकारमा ल्याउन चाहेको बालुवाटार स्रोतको दाबी छ ।



लोसपा नेता डा सुरेन्द्र झाले पनि सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग महन्थ ठाकुरले निरन्तर सम्वाद गरिरहेको बताए । प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा ल्याउने तयारी गर्दैगर्दा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपत्ति जनाएका छन् । प्रधानमन्त्री देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाँण खुमलटार पुगेका थिए ।

प्रधानमन्त्रीको सन्देशमा प्रचण्डले अनिच्छुक देखाएको माओवादी नेताले बताए । ‘उपेन्द्र यादवजी सरकारमै हुनुहुन्छ । उहाँ सरकारमा हुँदाहुँदै महन्थजीलाई सरकारमा सहभागी गराउनु उहाँ(प्रचण्ड)ले ठीक मान्नुभएन,’ ती नेताले भने । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

सम्बन्धित समाचार