कक्षा १२ को परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाइने

राष्ट्रिय परीक्षा बोर्डले जेठ १६ देखि हुने कक्षा १२ को परीक्षामा देशैभर अनलाइनबाट प्रश्नपत्र पठाउने भएको छ । बोर्डले गएको वर्षको परीक्षामा अनलाइनबाट प्रश्नपत्र पठाउँदा कुनै समस्या नभएको र सहज रूपमा परीक्षा सम्पन्न गर्न सफल भएको मूल्याङ्कन गर्दै यो वर्षको परीक्षामा पनि अनलाइनबाट प्रश्नपत्र पठाउने निर्णय गरेको हो ।

बोर्डले आफ्ना सबै प्रदेश परीक्षा कार्यालयलाई पत्राचार गरी इन्टरनेट, विद्युत्, इन्भर्टर वा जेनेरेटर सुविधा, प्रिन्टर भएका विद्यालयलाई मात्र परीक्षा केन्द्र कायम गर्न निर्देशन दिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सोमबार कुरा गर्दै खर्च कटौती गर्दै परीक्षालाई व्यवस्थित गर्न अनलाइनमार्फत प्रश्नपत्र पठाउने व्यवस्था गरिएको जानकारी दिए ।



उनले ने – ‘विगत वर्षको अनुभवलाई कार्यान्वयन गर्न सबै केन्द्रमा अनिवार्य रूपमा अनलाइन प्रश्नपत्र पठाउने निर्णय गरेका हौं।’ बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार परीक्षामा आंशिकसमेत गरी ४ लाख २५ हजार परीक्षार्थी सहभागी हुनेछन् । उनका अनुसार करिब १ हजार २ सय परीक्षा केन्द्र कायम गरिनेछ। बोर्डले कोभिड महामारीका कारण गएको वर्ष होमसेन्टर कायम गर्दा ४ हजार ३ सय विद्यालयमा अनलाइनबाट प्रश्नपत्र पठाउने व्यवस्था गरेको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

सम्बन्धित समाचार