आज कति संक्रमित थपिए ?, यस्तो छ २४ घण्टाको विवरण

मृतकको संख्या शून्य

पछिल्लो चौबीस घण्टामा नेपालमा ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ४ हजार ४३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ९८६ जनाको पीसीआर परीक्षण गर्दा ६ जना र दुई हजार ५७ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६६ हजार ३०३ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४०० रहेको छ । जसमा ३८२ जना होम आइसोलेसनमा छन् भने १८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९ संक्रमित आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७८ हजार ६५४ र एन्टिजेन विधिबाट १ लाख ४० हजार १६१ जना पुगेको छ ।

सम्बन्धित समाचार