नुवाकोटको टिकट वितरणमा आर्थिक चलखेल, कार्यकर्तामा असन्तुष्टि

स्थानीय निर्वाचन आउन १६ दिन बाकी रहँदा चुनावी सरगर्मीले तीब्रता पाउँदै छ । टिकट वितरणदेखि उम्मेदवारीको मनोनयन दर्तासम्म सबै तहका नेताहरूको चलखेल बढेको जानकारहरू बताउँछन । विशेष गरी नेपाली काँग्रेस नुवाकोटमा पार्टीको उम्मेदवार छनोटदेखि टिकट वितरणसम्म आर्थिक चलखेलको प्रभाव परेको चर्चा छ । राम्रालाई भन्दा पनि हाम्रालाई टिकट दिलाउन सामान्य नेतादेखि पहुँचवालाहरूसम्म सबैले न्वारानदेखिको बल लगाएको सुनिन्छ । र, आर्थिक चलखेलको चर्चासँगै इमान्दार कार्यकर्ताहरूमा भने असन्तुष्टिको बादल मडारिन थालेको बताइन्छ ।

मुलुकभरीका ७५३ स्थानीय निकायहरूमा उम्मेदवारी दर्ता गर्ने कार्य सम्पन्न भएको छ । कतै गठबन्धनबाट, कतै पार्टीले एकल रूपमा तथा कतिपय स्थानहरूमा स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता भएका समचारहरू प्राप्त भएका छन् । त्यसै मेसोमा नुवाकोट जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ र गाउँदेखि शहरसम्म, चियापसलदेखि पाटी, पौवा र चौतारीसम्म आ–आफ्नो दलका उम्मेदवार जिताउन लागिपरेका छन् । उम्मेद्वारहरू स्वयम् पनि मतदाताहरूलाई प्रभावमा पार्दै आफ्नो पक्षमा जनमत जुटाउन लागिपरेका छन् ।



२ नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तह र ८८ वटा वडाहरू रहेको नुवाकोटमा यस चुनावमा नेपाली काँग्रेस आफ्नो कौशलता प्रर्दशन गर्न चुकेको अनुमान गरिँदैछ । मनोनयनको अन्तिम दिन ३ बजेसम्म पनि उम्मेदवारहरूको निर्णय गर्न रस्साकस्सी चलिरहेको थियो । स्थानीय तहमा महत र केसी गुटका बीचमा भागबण्डा नमिल्दा कार्यकर्तामा अन्यौलता पैदा भएको हो । उम्मेदवारी दर्ताका क्रममा देखिएको अन्यौलताले चुनावलाई पनि प्रभावित पार्न सक्ने अनुमान छ ।

नेपाली काँग्रेस एउटा लोकतान्त्रिक पार्टी भएका नाताले यसले विधि र पद्धतिलाई आत्मसात् गर्न सक्नुपर्ने हो तर १४औं महाधिवेशनबाट शुरू भएको गुट, उपगुट र अन्योलतालाई समयमा व्यवस्थापन गर्न नसक्ता सङ्घारमा रहेको स्थानीय चुनावसम्म आइपुग्दा झनै ठूलो अप्ठ्यारोमा पर्नसक्ने देखिन्छ । नेतृत्वको उज्यालो घाम सबैतिर समान रूपमा नलाग्दा पार्टीभित्रका इमान्दार, निष्ठावान र जनप्रिय नेताहरू किनारा लाग्नुपर्ने अवस्था आइपरेको छ भने कति ‘बागी’ हुनुपर्ने अवस्था सिर्जना भएको छ । स्थानीय चुनावपछि लोकप्रिय नेताहरूले नै नेपाली काँग्रेस पार्टीबाट पलायन हुने सङ्केत दिइसकेका छन् । पार्टी राजनीतिमा यो दुःखद् पक्ष हो । नेतृत्वको सुझबुझ सकियो भने केसम्म हुन सक्छ भन्ने कुरा बुझ्न भारतीय काँग्रेसको आजको अवस्थालाई विश्लेषण गर्दा स्पष्ट हुनेछ ।

सम्बन्धित समाचार