नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ वैशाख ।
दोस्रो टी-ट्वान्टी खेलमा नेपाल र जिम्बाबे ‘ए’ भिड्दै छन् । आज (सोमबार) हुने खेल काठमाडौँको त्रिवि मैदानमा नेपाली समय अनुसार दिउँसो १ बजे सुरु हुनेछ ।
पहिलो खेलमा पाहुना टोली जिम्बाबेसँग हार व्यहोरेको घरेलु टोली नेपाल आज हारको बदला लिने योजनाका साथ मैदान उत्रदैछ भने पाहुना टोली जिम्बाबे ‘ए’ भने दोस्रो जित हात पार्ने योजनामा रहेको छ । आइतबार भएको खेलमा नेपाल जिम्बाबे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।
घरेलु मैदानमा नेपालले जिम्बाबे ‘ए’ विरुद्ध एकदिवसिय र टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । नेपालले जिम्बाबे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी-२० खेल खेल्नेछ । पाहुना टोली जिम्बाबे ‘ए’ ले घरेलु टोली नेपाललाई हराउदै सिरिजमा विजयी सुरुवात गरेको छ भने नेपालले भने हारसहित सिरिजको सुरुवात गरेको छ ।
यसअघि पहिला एकदिवसीय खेल्ने तय भैसकेको भएपनि शनिबार पानी परेकाले मैदान चिसो भए पछि एकदिवसीय स्थगित गरेर पहिला टी- २० सिरिज खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । सिरिज अन्तर्गत नेपालले दोस्रो टी-२० खेल सोमबार र तेस्रो तथा अन्तिम खेल आगामी बुधबार खेल्नेछ । टी-ट्वान्टी सिरिज पछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ । १० दिन चल्ने सिरिजमा जिम्बाबेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।