नेपालद्वारा जिम्बावे ‘ए’ पराजित

सिरिज १-१ को बराबरीमा सकियो

नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ बीचको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको छ । तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा नेपाल विजयी भएसँगै सिरिज १-१ को बराबरीमा सकिएको हो । आज (बुधबार) भएको खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई ८ विकेटले पराजित गरेको हो ।

काठमाडौँको टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो । जिम्बावेका लागि रोय कियाले ४९ रन बनाए भने मारुमानीले २७ रन जोडे । त्यस्तै लुक जोग्वेले २३ रनमा अविजित रहँदा २इनोसेन्ट कियाले १४ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले २ विकेट लिए भने सोमपाल कामी र बसिर अहमेदले भागमा समान १-१ विकेट रह्यो ।



१३७ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि आशिफ शेखले अविजित रहँदै ८७ रनको अर्धशतकीय पारी खेले भने कुशल भुर्तेलले ३४ रन बनाए । त्यस्तै बसिर अहमद १० रन बनाई आउट भए । जिम्बावे ‘ए’को लागि लुक जोग्वे र ब्र्यान्डन माभुटाले समान १-१ विकेट लिए ।

पहिलो खेलमा पाहुना टोली जिम्बाबेसँग हार व्यहोरेको घरेलु टोली नेपाल आज जित हात पर्दै सिरिज बराबरी गरेको हो । नेपाल र जिम्बावेबीचको दोस्रो टी-ट्वान्टी खेल भने वर्षाले रद्द भएको थियो । आइतबार भएको पहिलो खेलमा भने नेपाल जिम्बाबे ‘ए’ सँग ६ विकेटले पराजित भएको थियो ।

घरेलु मैदानमा नेपालले जिम्बाबे ‘ए’ विरुद्ध एकदिवसिय र टी–ट्वान्टी सिरिज खेल्न लागेको हो । टी-ट्वान्टी सिरिज पछि नेपालले एकदिवसीय सिरिज खेल्नेछ । १० दिन चल्ने सिरिजमा जिम्बाबेका राष्ट्रिय टोलीमा रहेका खेलाडीको समेत सहभागिता रहने छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेल्न लागेको हो ।अब नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ ।

सम्बन्धित समाचार