नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो ।
पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । बैंगलोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए भने फाप डु प्लेसिसले ३८ रन जोडे । त्यस्तै विराट कोहली ३० रन बनाई आउट भए भने दिनेश कार्तिकले २६ र रजत पटीदारले २१ रन जोडे । चेन्नईका लागि महिश थेकसेनाले ३ विकेट लिए भने मोइन अलीको भागमा २ विकेट रह्यो ।
१७४ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो । चेन्नईका लागि डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै मोइन अली ३४ रन बनाई आउट भए भने रुतुराज गायकवाडले २८ रन बनाए । बैंगलोरका लागि हर्सल पटेलले ३ विकेट लिए भने ग्लेन म्याक्स्वेलको भागमा २ विकेट रह्यो ।
जितसँगै बैंगलोर ११ खेलमा १२ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ भने १० खेलमा ६ अंक जोडेको चेन्नई नवौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद भिड्दै छन् ।