नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ वैशाख ।
नेपाल टी-२० र एकदिवसीय वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको टी-२० र एकदिवसीय वरीयता खस्किएको हो ।
टी-२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयतामा नेपाल १३ औं स्थानमा रहेको हो । यसअघि नेपाल वरीयताको १२ औं स्थानमा रहेको थियो ।आईसीसीले सार्वजनिक गरेको टी-२० को नयाँ वरीयताको शीर्ष स्थानमा भारत, इंग्ल्यान्ड दोस्रो, पाकिस्तान तेस्रो र दक्षिण अफ्रिका चौथो र न्युजिल्याण्ड पाँचौं स्थानमा छ ।
यस्तै एकदिवसीय वरीयतामा पनि नेपाल एक स्थान तल झर्दै १९ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १८ औं स्थानमा रहेको थियो । आईसीसीले सार्वजनिक गरेको एकदिवसीयको नयाँ वरीयताको शीर्ष स्थानमा न्युजिल्यान्ड , इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो र भारत चौथो स्थानमा रहेका छन् ।