नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
पहिलो एकदिवसीय खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ सँग पराजित भएको छ । आज(शुक्रबार) भएको खेलमा जिम्बावे ‘ए’ले नेपाललाई ३ विकेटले पराजित गरेको हो ।
काठमाडौँको त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो ।
नेपालको लागि सोमपाल कामीले ३० रन बनाए भने करण केसीले २५ रन जोडे । त्यस्तै कुशल भुर्तेल १९ रन बनाई आउट भने भने दिपेन्द्र सिंह ऐरीले १८ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । जिम्बावे ‘ए’ को लागि ब्राड इभान्सले ४ विकेट लिए भने भिक्टर न्याउचि, ब्र्यान्डन माभुता र चेफास झुवावको भागमा समान २-२ विकेट रह्यो ।
१३७ रनको लक्ष्य लिएर मैदान उत्रेको जिम्बावे ‘ए’ ले २६ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । उसको लागि इनोसेन्ट काय ४८ रनमा अविजित रहे भने चेफास झुवावले ३२ रन बनाए । त्यस्तै ब्राड इभान्स १७ रनमा अविजित रहे भने रोय कायले १४ रन जोडे । नेपालको लागि सन्दीप लामिछाने र करण केसीले समान २-२ विकेट लिए भने सोमपाल कामी र सागर ढकालको भागमा समान १-१ विकेट रह्यो ।
जितसँगै जिम्बावेले तीन खेलको सिरिज १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल भोलि हुनेछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो ।यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।