नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स र लखनउ सुपर जाइन्ट्स विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा पन्जाब किङस राजस्थानसँग ६ विकेटले पराजित भयो भने दोस्रो खेलमा लखनउले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको हो ।
मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८९ रन बनाएको थियो । पन्जाबका लागि जोनी बेयर्स्टोले ५६ रनको अर्धशतकीय पारी खेले भने जितेश शर्मा ३८ रनमा अविजित रहे । त्यस्तै भानुका राजपाक्षे २७ रन बनाई आउट भए भने लियाम लिभिङस्टोनले २२ रन बनाए । राजस्थानका लागि युजभेन्द्र चाहलले ३ विकेट लिए ।
१९० रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १९ ओभर ४ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानका लागि याशस्भी जैसवालले ६८ रनको अर्धशतकीय पारी खेले भने शिम्रन हिटमेयर ३१ रनमा अविजित रहँदा देबदुत पडिकलले ३१, जोस बट्लरले ३० र कप्तान सन्जु सामसनले २३ रन जोडे । पन्जाबका लागि अश्रदिप सिंहले २ विकेट लिए ।
जितसँगै राजस्थान ११ खेलमा १४ अंक जोड्दै तेस्रो स्थानमा छ भने ११ खेलमा १० अंक जोडेको पन्जाब सातौं स्थानमा रहेको छ । त्यसैगरी आईपीएल टी-ट्वान्टी क्रिकेट अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा लखनउ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई ७५ रनले पराजित गरेको छ ।
पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । लखनउका लागि क्विन्टन डी ककले ५० रनको अर्धशतकीय पारी खेले भने दिपक हुडाले ४१ रन बनाए । यस्तै मार्कुस स्टोनिस २८ रन बनाई आउट भए भने कप्तान कुर्नाल पाण्डेयले २५ रन जोडे । कोलकाताका लागि आन्द्रे रसेलले २ विकेट लिए ।
१७७ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १०१ रनमा समेटियो । कोलकाताका लागि आन्द्रे रसेलले ४५ रन बनाए भने सुनिल नारिनेले २२ रन जोड्दा आरोन फिन्चले १४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । लखनउका लागि आभेश खान र जेसन होल्डरले समान ३-३ विकेट लिए ।
जितसँगै लखनउ ११ खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ११ खेलमा ८ अंक जोडेको कोलकाता आठौँ स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा सनराईजर्स हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् भने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स आमने-सामने हुँदै छन् ।