बैंगलोर र चेन्नई विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्स विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सनराईजर्स हैदरावाद बैंगलोरसँग ६७ रनले पराजित भयो भने दोस्रो खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो ।

मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनाएको थियो । बैंगलोरका लागि कप्तान फाप डु प्लेसिसले अविजित रहँदै ७३ रनको अर्धशतकीय पारी खेले भने रजत पटीदारले ४८ रन बनाए । त्यस्तै ग्लेन म्याक्स्वेल ३३ रन बनाई आउट भए भने दिनेश कार्तिक ३० रनमा अविजित रहे । हैदरावादका लागि जगदीश सूचितले २ विकेट लिए ।



बैंगलोर

१९३ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदरावाद १९ ओभर २ बलमा अलआउट हुँदै १२५ रनमा समेटियो । हैदरावादका लागि राहुल त्रिपाठीले ५८ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै एडिन मार्कम्यान २१ रन बनाई आउट भए भने निकोलस पुरनले १९ रन जोडे । बैंगलोरका लागि वानिन्दु हसरंगा डी सिल्भाले ५ विकेट लिए भने जोस हाजलउडको भागमा २ विकेट रह्यो ।

जितसँगै बैंगलोर १२ खेलमा १४ अंक जोड्दै चौथों स्थानमा रहेको छ भने ११ खेलमा १० अंक जोडेको हैदरावाद छैटौं स्थानमा रहेको छ । त्यसैगरी आईपीएलटी-ट्वान्टी क्रिकेट अन्तर्गत आइतबार राति भएको दोस्रो खेलमा चेन्नई सुपर किङ्सले दिल्ली क्यापिटल्सलाई ९१ रनले पराजित गरेको हो ।

हैदरावाद

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०८ रन बनाएको थियो । चेन्नईका लागि डेभोन कोन्वेले ८७ रनको अर्धशतकीय पारी खेले भने रुतुराज गायकवाटले ४१ रन बनाए । त्यस्तै शिभम डुबे ३२ रन बनाई आउट भए भने कप्तान महेन्द्र सिंह धोनी २१ रनमा अविजित रहे । दिल्लीका लागि एन्रिच नोर्कियाले ३ विकेट लिए भने खलिल अहमेदको भागमा २ विकेट रह्यो ।

चेन्नई

२०९ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १७ ओभर ४ बलमा अलआउट हुँदै ११७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि मिचेल मार्शले २५ रन बनाए भने शार्दुल ठाकुरले २४ रन जोडे । यस्तै कप्तान ऋषव पन्तले २१ र डेभिड वार्नरले १९ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । चेन्नईका लागि मोइन अलीले ३ विकेट लिए भने मुकेश चौधरी, सिमर्जित सिंह र ड्वायन ब्राभोको भागमा समान २-२ विकेट रह्यो ।

दिल्ली

जितसँगै चेन्नई ११ खेलमा ८ अंक जोड्दै आठौँ स्थानमा उक्लिएको छ भने ११ खेलमा १० अंक जोडेको दिल्ली पाँचौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्दै छन् ।

 

सम्बन्धित समाचार