जिम्बावे ‘ए’ द्वारा नेपाल सामू २१४ रनको लक्ष्य प्रस्तुत

तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा पाहुना टोली जिम्बावे ‘ए’ ले नेपाललाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । आज (सोमबार ) भएको खेलमा काठमाडौँको त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ ३२.१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो ।

चिसो मैदानका कारण ढिलो गरी सुरु भएको खेलमा ३३ ओभरमा झारिएको थियो । जिम्बावे ‘ए’ को लागि ताडीवानासी मारुमानीले ५० रनको अर्धशतकीय पारी खेले भने कुदजाई मन्जेले ३९ रन बनाए । त्यस्तै रोय काय ३६ रन बनाई आउट भए भने टोनी मुनयोङ्गाले २४ रन जोडे ।नेपालको लागि किशोर महतोले ५ विकेट लिए भने सोमपाल कामीले २ र करण केसी र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



आज नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै तीन म्याच सिरिजमा २-१ ले आफ्नो पक्षमा पार्ने योजनामा छ भने पाहुना टोली पनि सिरिज जित्ने योजनामा रहेको छ । नेपाल जिम्बावेविरुद्ध जित निकाल्दै सिरिज जित्न चाहन्छ । पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

सम्बन्धित समाचार