नेपालले जित्यो जिम्बावे ‘ए’ विरुद्धको सिरिज

नेपालले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय सिरिज जितेको छ । सोमबार भएको अन्तिम तथा तेस्रो एकदिवसीय खेलमा पाहुना टोली जिम्बावे ‘ए’ लाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो ।

काठमाडौँको त्रिवि क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ‘ए’ ३२१ ओभरमा सबै विकेट गुमाउँदै २१३ रनमा समेटियो । चिसो मैदानका कारण ढिलो गरी सुरु भएको खेलमा ३३ ओभरमा झारिएको थियो । जिम्बावे ‘ए’ को लागि टाडीवानासी मारुमानीले ५० रनको अर्धशतकीय पारी खेले भने कुदजाई मन्जेले ३९ रन बनाए । त्यस्तै रोय काय ३६ रन बनाई आउट भए भने टोनी मुनयोङ्गाले २४ रन जोडे ।नेपालको लागि किशोर महतोले ५ विकेट लिए भने सोमपाल कामीले २ र करण केसी र दिपेन्द्र सिंह ऐरीको भागमा समान १-१ विकेट रह्यो ।



२१४ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेल्दै क्रमश: ८४ र ६० रन बनाए । कुशल आउट हुँदा दिपेन्द्र भने अविजित रहे । त्यस्तै आसिफ शेखले २९ रन जोडे भने विनोद भण्डारी २८ रनमा अविजित रहे । जिम्बावेका लागि ब्राण्डन माभुताले ३ विकेट लिए भने ब्राड इभान्सको भागमा १ विकेट रह्यो ।

पहिलो खेलमा जिम्बावेले नेपाललाई ३ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारी स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग सिरिज खेलिरहेको हो । यसअघि भएको तीन खेलको टी-ट्वान्टी सिरिज १-१ को बराबरीमा सकिएको थियो ।

त्यस्तै नेपालका करण केसी प्लेयर अफ द सिरिज घोषित भए । उनले सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका कारण अलराउण्डर करण प्लेयर अफ द सिरिज चुनिएका हुन् । सिरिजमा करणले ६ विकेट लिँदै २५ रन बनाएका थिए ।

 

सम्बन्धित समाचार