नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । सोमबार राति भएको खेलमा कोलकाताले मुम्बई इन्डियन्सलाई ५२ रनले पराजित गरेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभर ९ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । कोलकाताका लागि नितिश राना र भेन्काटेस एयरले समान ४३ -४३ रन बनाए भने अजिन्का रहानेले २५ रन जोड्दा रिन्कु सिंह २३ रनमा अविजित रहे । मुम्बईका लागि जस्प्रित बुम्राहले ५ विकेट लिए भने कुमार कार्तिकेयाको भागमा २ विकेट रह्यो ।
१६६ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै ११३ रनमा समेटियो । मुम्बईका लागि इशान किशनले ५१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै काइरन पोलार्डले १५ , टिम डेभिडले १३ र रमनदिप सिंहले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए भने आन्द्रे रसेलको भागमा २ विकेट रह्यो ।
जितसँगै कोलकाता १२ खेल १० अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने ११ खेलमा ४ अंक जोडेको मुम्बई पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज लखनउ सुपर जाइन्ट्स र गुजरात टाईटन्स भिड्दै छन् ।