नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट गुजरात टाइटन्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा गुजरातले लखनउ जाइन्ट्सलाई ६२ रनले पराजित गरेको हो । जितसँगै गुजरात प्ले अफमा प्रवेश गरेको छ ।
पुनेमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । गुजरातका लागि शुबमन गीलले अविजित रहँदै ६३ रनको अर्धशतकीय पारी खेले भने डेभिड मिलरले २६ रन बनाए । त्यस्तै राहुल टेवाटिया २२ रनमा अविजित रहे । लखनउका लागि आभेश खानले २ विकेट लिए ।
१४५ रनको लक्ष्य लिएर मैदान उत्रेको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका लागि दिपक हुडाले २७ रन बनाए भने आभेश खानाले १२ र क्विन्टन डी ककले ११ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । गुजरातका लागि राशिद खानले ४ विकेट लिए भने यश दयाल र साई किशोरको भागमा समान २-२ विकेट रह्यो ।
जितसँगै गुजरात १२ खेलमा १८ अंक जोड्दै शीर्ष स्थानमा रहँदै प्ले अफमा पुगेको छ भने १२ खेलमा १६ अंक जोडेको लखनउ दोस्रो स्थानमा झरेको छ । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै छन् ।