नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ वैशाख ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्था आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आज(बुधबार) बसेको मन्त्रालयको बैठकले सरकारको निर्णय अनुसार जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो ।
बैठकले शैक्षिक संस्थाको हिउँदे, वर्षे र पर्व बिदा कटौती गर्ने निर्णय गरेको छ । हप्तामा दुई दिन बिदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय बिदा कटौती गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।
शर्माले हप्तामा दुई दिन बिदा गर्दा पाँच दिन १० देखि ४ बजेसम्म समय कायम हुने भन्दै शुक्रबार आधा छुट्टीको व्यवस्था भने हटाइएको जानकारी दिए । उनले भने, ‘हिउँदे, वर्षे र पर्व बिदा कटौती गरी वर्षभरिमा अधिकतम ३० दिनसम्म बिदा दिन सकिन्छ ।’ यसअघि हिउँदे, वर्षे र पर्व बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था थियो ।
हिउँदे, वर्षे बिदा गरी कुल ४५ दिन र स्थानीय पर्व बिदा पाँच दिन गरी ५० दिन बिदा पाउने व्यवस्था रहेकोमा यी बिदालाई कटौती गरी वार्षिक ३० दिन मात्रै बिदा दिने व्यवस्था मिलाइने शर्माले जानकारी दिए । पाठ्यभार पुराउनका लागि बिदा अवधि छोट्याइएको प्रवक्ता शर्माले बताए ।
विज्ञप्ति