नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा पन्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५४ रनले पराजित गरेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २०९ रन बनाएको थियो । पन्जाबका लागि लियाम लिभिङस्टोन र जोनी ब्रेस्टोले अर्धशतकीय पारी खेल्दै क्रमश: ७० र ६६ रन बनाए भने शिखर धवनले २१ रन जोडे । बैंगलोरका लागि हर्सल पटेलले ४ विकेट लिए भने वानिन्दु हसरंगाको भागमा २ विकेट रह्यो ।
२१० रनको लक्ष्य लिएर मैदान उत्रेको बैंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रन मात्र बनाउन सक्यो । बैंगलोरका लागि ग्लेन म्याक्सवेलले ३५ रन बनाए भने रजत पटीदारले २६ रन जोड्दा विराट कोहली २० रन बनाए । पन्जाबका कागिसो राबडाले ३ विकेट लिए भने ऋषि धवन र राहुल चाहरको भागमा समान २-२ विकेट रह्यो ।
जितसँगै पन्जाबले १२ खेलमा १२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ भने १३ खेलमा १४ अंक जोडेको बैंगलोर चौथों स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दै छन् ।