नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । आइतबार राति भएको अन्तिम लिग खेलमा पन्जाब किङ्सले सनराईजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो ।
मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । हैदरावादका लागि अविशेक शर्माले ४३ रन बनाए भने रोमारियो सेफर्ड २६ रनमा अविजित रहँदा वासिङ्गटन सुन्दरले २५ रन जोडे । पन्जाबका लागि नाथन एलिस र हरप्रित ब्रारले समान ३-३ विकेट लिए भने कागिसो रबाडाको भागमा १ विकेट रह्यो ।
१५८ रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका लागि लियाम लिभिङस्टोनले अविजित रहँदै ४९ रन जोडे भने शिखर धवनले ३९ रन बनाए । त्यस्तै जोनी बेस्ट्रो २३ रन बनाई आउट भए भने जितेश शर्मा र शाहरुख खानले समान १९-१९ रन बनाए । हैदरावादका लागि फाजल्हक फारुकीले २ विकेट लिए । जितसँगै पन्जाब १४ खेलमा १४ अंक जोड्दै छैटौं स्थानमा रह्यो भने समान खेलमा १२ अंक जोडेको हैदरावाद आठौँ स्थानमा रह्यो ।