नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ जेठ ।

देशको राजधानी काठमाडौं भित्रको यात्रा दिन प्रतिदिन कष्टकर बन्दैछ । यहाँको सडकमा गुड्ने सार्वजनिक यातयातमा अत्यधिक भीड लाग्ने गर्छ। संघीय राजधानीका कारण जनघनत्वको चाप र त्यसलाई व्यवस्थित गर्न नसक्नुले पनि काठमाडौंमा भनेजस्तो यात्रा गर्न सहज छैन।
सार्वजनिक यातायात अव्यवस्थित र असुरक्षित छँदैछ छ भने अर्कोतिर निजी सवारीमा यात्रा गर्दा पनि ट्राफिक जामको कारण समयमै गन्तव्य पुग्न सकिँदैन । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रु चढाउने गर्दा एकातिर यात्रुहरु चाँडै गन्तव्यमा पुग्न सक्दैनन् भने अर्कोतिर ट्राफिक नियमको पालना हुँदैन ।
त्यसो त सार्वजनिक यात्रा गर्ने यात्रुहरुको सवारीबाट नै मोबाइल, पैसा हराएका घटनाहरु पनि सार्वजनिक भइरहेका हुन्छन् । नियमानुसार सिटभन्दा बाहेक यात्रु राखे ट्राफिक कारबाही भोग्नुपर्छ। तर ट्राफिक प्रहरीकै अगाडि यात्रु कोचेर सार्वजनिक बस चलाउने गरिएको छ । यसरी चलाएबापत सार्वजनिक यातायातले दण्डित हुनुपर्दैन? गाडी नपाउँदा यात्रु पनि कोचिएर/झुन्डिएर यात्रा गर्न बाध्य छन् ।
सार्वजनिक यातायातमा कष्टकर यात्रासँगै यात्रुका लागि दुर्घटनाको जोखिमसमेत बढेको छ। शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले पनि अन्य दिन सडकमा भीड बढेको हो । निजी तथा सरकारी कार्यालय एकै समयमा खुल्नु पनि यसको एउटा कारण हो । राजधानीको काठमाडौं टुँडिखेल आसपास बजारको विस्तार,चक्रपथबाहिर सरकारी तथा कर्पोरेट कार्यालय नहुनुले पनि सार्वजनिक यातायात भरिभराउ हुन्छन् ।
राजधानीमा व्यवस्थित बसपार्कको अभावमा पनि सडकमा भीड बढ्ने गरेको छ । पछिल्लो समय बसपार्कमा पुगेर आरामले बस चढ्न र गन्तव्यमा जानसक्ने अवस्था छैन ।
तस्विर सौजन्य : न्यूज एजेन्सी नेपाल

