नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ जेठ ।
यूईएफए च्याम्पियन्स लिग फुटबल २०२१/२२ को उपाधि स्पेनिस क्लब रियल मड्रिडले जितेको छ । शनिबार राति भएको फाइनलमा इंग्लिस क्लब लिभरपुललाई १-० ले पराजित गर्दै रियल मड्रिडले उपाधि चुमेको हो ।
फ्रान्सको पेरिसस्थित स्टेट डे फ्रान्स स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको ५९ औं मिनेटमा भाल्भर्डेको पासमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई अग्रता दिलयेक थिए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल हुन सकेन र जुनियरको निर्णायक गोल नै रियालई उपाधि दिलाउन पर्याप्त रह्यो ।
त्यसअघि खेलको ४४ औं मिनेटमा करिम बेन्जिमाले गरेको गोल गरेपनि उक्त गोल अफसाइड रह्यो । यदयापी लिभरपुलले केही गोल गर्न सुन्दर अवसर खेर फाल्दा उपाधि जित्न असफल रह्यो । रियलका गोलकिपर थिबाउट कोर्टुवाले लिभरपुलका केही उत्कृष्ट प्रहार बचाएका थिए ।
जितसँगै रियल १४ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल हुँदै कीर्तिमान रचेको छ । रियलले यसअघि २०१८ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो भने सातौं पटक उपाधि जित्ने लक्ष्य बोकेको लिभरपुलको सपना अधुरै रह्यो ।