तारा एयरको विमान दुर्घटना : सबैको शव र ‘ब्ल्याकबक्स’ फेला

थप १२ जनाको शव आज काठमाडौँ ल्याइँदै

आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा भएको तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै २२ जनाकै शव भेटिएको छ । आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर  उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको  मृत्यु भएको हो ।

त्यस्तै विमानमा सवार सबै जनाको शव भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार १० जनाको शव सोमबार नै काठमाडौँ पठाइसकिएको छ भने बाँकी शवलाई समेत घटनास्थलबाट कोवाङमा झारिएको छ । यस्तै दुर्घटनास्थलबाट विमानको ‘ब्ल्याकबक्स’ समेत भेटिएपछि शव र दुर्घटनास्थलमा भेटिएका महत्वपूर्ण सामानसहित उद्धारमा खटिएका सुरक्षाकर्मीसमेत फिर्ता भएको प्रजिअ शर्माले बताए ।



कोबाङमा ल्याइएका १२ जनाको शवलाई समेत नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी गरिएको छ । तारा एयरको जहाज हराएको १९ घण्टापछि सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शेर्पा र स्थानीयवासी घटनास्थल पुगेर दुर्घटनामा परेर ज्यान गुमाएकाको शव सङ्कलन र उद्धार गरेका थिए । सोमबार बिहान ७ बजेतिर यार्चागुम्बा टिप्न गएका बागलुङको बडिगाड गाउँपालिका–७ का विशाल घर्तीले घटनास्थल देखेर प्रहरीलाई खबर गरेका थिए । उनले इन्धनको गन्ध आएपछि पछ्याउँदै जाँदा जहाज दुर्घटनाग्रस्त अवस्थामा र शव छरिएको अवस्था देखेपछि प्रहरीलाई घटनास्थलको फोटो र भिडियो पठाएका थिए ।

थप १२ जनाको शव आज काठमाडौँ ल्याइँदै
त्यस्तै नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याइने जनाएको छ । आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौँ ल्याउने जनाएको हो ।

यसअघि १० जनाको शव सोमबार नै काठमाडौँ ल्याइएको थियो । ‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गतेका दिन काठमाडौँ ल्याइएको र बाँकी रहेका १२ जनाको शव आज बिहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोबाङ ल्याइसकेको र उक्त शवहरू नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौँ ल्याइने क्रममा रहेको जानकारी गराइन्छ,’ प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

विज्ञप्ति

सम्बन्धित समाचार