नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।
आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आज (शुक्रबार) बिहान भएको खेलमा कतारलाई ७९ रनले पराजित गर्दै नेपालले शानदार जित दर्ता गरेको हो ।
मलेसियाको यूकेएम ओभलमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगर र सृष्टि जैशीले अविजित रहँदै क्रमश: ३२ र २३ रन जोडे । त्यस्तै सानु राजवंशी २१ रन बनाई आउट भईन् भने अन्जली विश्वकर्माले ११ रन जोडिन् । कतारको लागि साची ढड्वाल र अलिना खानले समान १-१ विकेट लिए ।
११८ रनको लक्ष्य लिएर मैदान उत्रेको कतारले १५ ओभर ४ बलमा अलआउट हुँदै ३८ रनमा समेटियो । कतारका लागि कप्तान साची ढड्वालले र श्रुतिबेन कमलेशभाइ रानाले समान १४-१४ रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । नेपालको लागि सृष्टि जैशीले ३ विकेट लिईन् भने अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराको भागमा समान २-२ विकेट रह्यो ।
टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । अब नेपालले दोस्रो खेल युएईविरुद्ध भोलि (शनिबार) खेल्नेछ भने तेस्रो खेल आगामी सोमबार भुटानविरुद्ध, चौथों खेल मंगलबार थाइल्याण्डसँग र पाँचौं खेल आगामी बिहीबार आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।