रोहिणी खोलामा बस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते

रुपन्देहीकाे रोहिणी खोलाको पुलबाट बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आज (आइतबार) बिहान करिब पौने ५ बजे भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रुबाहक बस खसेको हो ।

जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नंको बस आज बिहान करिब पौने ५ बजे रोहिणी पुलबाट खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । बसमा ३३ यात्रु सवार थिए जसमा २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।



५ जनाको सनाखत
यसैबीच मृत्यु भएका ९ जना मध्ये ५ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अन्य चार जनाको भने परिचय खुल्न बाँकी रहेको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया विष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास,रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे र ४० वर्षको भारतीय नागरिक अरबिन्द्र शर्मा रहेको अस्पताल प्रशासनले जनाएको छ । पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते भएकाहरूको भैरहवास्थित मेडिकल कलेज र भीम अस्पताल भैरहवामा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर र ८ जनाको अवस्था भने मध्यम रहेको उनले बताए ।

सम्बन्धित समाचार