नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा अर्जुनधारा नगरपालिका-११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका-१३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने ओखलढुङ्गा चिशङ्खु गढी गाउँपालिका-३ दियाले घर भएका २३ वर्षीय मिलन परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ मिलनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

