नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–आँबुखैरेनी सडक खण्ड अन्तर्गत सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला परेको छ । शुक्रबार बिहान सडक नै भासिने गरि पहिरो जाँदा कार र मोटरसाइकल नदीमा खसेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा शुक्रबार बिहान ४ बजे भासिएको सडकबाट बा१० च४६४९ नम्बरको कार र मोटरसाइकल खसेको थियो । सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ । मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उनले भने, ‘नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने सङ्केत देखिएको छ ।’ गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भाँसिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ ।

