नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ जेठ ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अमेरिकामा जारी त्रिकोणात्मक सिरिज अन्तर्गत घरेलु टोली अमेरिका र नेपालबीचको खेल बराबरी भएको छ । आइतबार बिहान सम्पन्न भएको नेपाल र अमेरिकाबीचको रोमान्चक खेल बराबरी भएको हो ।
अमेरिकाको मोसा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बल अलआउट हुँदै २७४ रन बनाएको थियो ।नेपालका लागि उपकप्तान रोहित पौडेल, आसिफ शेख र देव खनालले अर्धशतकीय पारी खेल्दै क्रमश:६२, ६१ र ५४ रन बनाए । त्यस्तै मोहम्मद आदील आलमले ३६ रन बनाई आउट भए भने कुशल भुर्तेल १९ रन जोड्दा कप्तान सन्दीप लामिछानेले १० रन बनाए । अमेरिकाका लागि रुष्टि थिरनले ४ विकेट लिए भने अलि खान र सौरभ नेत्रभाल्करको भागमा समान २-२ विकेट रह्यो ।
२७५ रनको लक्ष्य लिएर मैदान उत्रेको अमेरिका निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २७४ रन बनाएपछि खेल बराबरी भएको हो । अमेरिकाका लागि स्टेभेन टेलरले ११४ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान मोनान्क पटेलले ८५ रनको अर्धशतकीय पारी खेले भने आरोन जोन्सले २६ रन जोडे । नेपालका मोहम्मद आदील आलमले ३ विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेको भागमा समान १-१ विकेट रह्यो ।
जित नजिक पुगेको अमेरिकाविरुद्ध आदीलले अन्तिम ओभरमा शानदार बलिङ गरे । अन्तिम ओभरमा जितको लागि अमेरिकालाई ६ रन आवश्यक रहेकोमा आदीलले पाँच रन खर्चिदै नेपाललाई हारबाट जोगाए । रोमान्चक बनेको खेलमा अमेरिकालाई अन्तिम दुई बलमा जितका लागि एक रन आवश्यक थियो । पाँचौं बलमा आदीलले आरोन जोन्सलाई आउट गरे भने अन्तिम बलमा राहुल जरिवाला रन आउट भए । खेलको म्यान अफ दि म्याचा मोहम्मद आदील आलम प्लेयर अफ द म्याच चुनिए ।
खेल बराबरी भएपछि नेपाल र अमेरिकाले समान १-१ अंक बाँडेका छन् । अमेरिका २२ खेलमा २१ अंक जोड्दै तालिकाको चौथों स्थानमा छ भने १४ खेलमा १३ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ । सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित हुँदा घरेलु टोली अमेरिकाले भने ओमानलाई हराएको थियो । सिरिजमा नेपालले अमेरिका र ओमानसँग दुई दुई खेल खेल्नेछ । अब नेपालले दोस्रो तेस्रो खेलमा ओमानविरुद्ध जुन १४ मा र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्नेछ ।