नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ जेठ ।
एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा नेपाल कुवेतसँग ४-१ ले पराजित भएको हो ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको एकतर्फी खेलमा कुवेतका लागि युसेफ अलसुलिमानले २ गोल गरे भने फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले समान १-१ गोल गरे । नेपालका लागि दर्शन गुरुङले सान्त्वना गोल गरे । खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । त्यस्तै खेलको ५७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको पछि नेपालले गोल अन्तर घटाउन मौका खेर गयो ।
यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा युसेफले खेलको ७० औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३-० को अग्रता दिलाए । खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा कुवेत ४-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि त्यो ढिलो भैसकेको थियो र खेल कुवेतले ४-१ ले आफ्नो पक्षमा पार्यो । नेपालको यो लगातार दोस्रो हार हो भने कुवेतको पहिलो जित । पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो भने कुवेतलाई इन्डोनेसियाले हराएको थियो ।
हारसँगै नेपालले २ खेलमा अंकविहिन रहँदै अंक तालिकाको पुछारमा छ भने २ खेलमा ३ अंक जोडेको कुवेत तेस्रो स्थानमा रहेको छ । अब तेस्रो तथा अन्तिम खेल नेपालले जेठ ३१ गते इन्डोनेसियाविरुद्ध खेल्नेछ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ । यस्तै खेलको क्रममा नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी मैदानमा बेहोस हुँदै ढलेका थिए । मैदानमा अचेत भएपछि उनलाई मेडिकल टिमले प्राथमिक उपचारपछि अस्पताल लगिएको र उनको स्वास्थ्य सामन्य रहेको र उनको अस्पतालबाट डिस्चार्ज भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।