नवकान्तिपुर संवाददाता
काठमाडौं, १ असार ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू सिरिज अन्तर्गतको चौथों तथा अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै छन् । आज (बुधबार) सिरिजको लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो । नेपाल अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिजका लागि अमेरिकामा रहेको छ ।
टेक्ससस्थित मोसा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ । नेपाल आज अमेरिकाविरुद्ध जित निकाल्दै सिरिजको अन्त्य सुखद गर्ने योजनामा रहेको छ भने घरेलु टोली पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ । सिरिज अन्तर्गत यी दुईबिचको पहिलो खेल बराबरीमा सकिएको थियो ।
पछिल्लो नतिजा हेर्ने हो भने अमेरिकाभन्दा नेपाल बलियो देखिएको छ । यसअघि भएको पाँच भेटमा नेपालले अमेरिकालाई ३ पटक पराजित गरेको छ भने अमेरिकाले एक पटक नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको छ । अमेरिका २३ खेलमा २१ अंक जोड्दै अंक तालिकाको चौथों स्थानमा छ भने १५ खेलमा १५ अंक जोडेको नेपाल पाँचौं स्थानमा रहेको छ । यसअघि बुधबार बिहान सम्पन्न भएको खेलमा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।