नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असार ।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् । आज (आइतबार) बिहान १० बजेको लागि समितिले प्रधानमन्त्री देउवालाई छलफलको लागि बोलाएकोमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले यस्तो प्रस्ताव गरेका हुन् ।
अमेरिकन सहयोग स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी), परराष्ट्र नीति कार्यान्वयन र निकट भविष्यमा हुन गइरहेको प्रधानमन्त्रीको अमेरिकाको भ्रमणबारे छलफल गर्न समितिले प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले आउन नभ्याउने भनी जानकारी गराएको समिति सभापति पबित्रा निरौला खरेलले जानकारी दिइन् ।
नेता रावलले भने ‘हिजो लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बन्नु भएको हो । यही हो त लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समिक्षा गर्ला । उहाँ अनुपस्थित हुनु भनेको हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’ त्यस्तै उनले प्रधानमन्त्रीले संसदीय समितिमा आउँदिन भन्नु खेदजनक भएको भन्दै समितिले खेद प्रस्ताव पारित गर्नुपर्ने बताए ।
त्यस्तै उनले एसपीपीमा संलग्न हुँदैनौं भनेर अमेरिकालाई पत्र किन नलेखेको भनेर पनि प्रश्न गरे । ‘एसपीपीबाट बाहिरिने पत्र आजसम्म लेखिसक्नुपर्ने हो; लेखिएन । अब संसदीय समितिले सरकारलाई एसपीपीमा नरहने कुरा उल्लेख गरेर पत्र लेख्न निर्देशन दिनुपर्छ ।’
यस्तै समिति सभापति पबित्रा निरौलाले प्रधानमन्त्रीले समितिलाई अपमान गरेको महसुस आफूले गरेको बताइन् । हिजो बेलुकासम्म आउने कुरा गरेको तर आज बिहान प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिव भानु देउवाले आउन नभ्याउने भनेर जानकारी गराएको खरेलको भनाइ छ । निरौलाले भनिन्, ‘समयमा खबर नगर्नु अपमान नै हाे । हिजाेसम्म खबर दिनुपर्ने हाे । आज ८ बजे खबर दिनु त अपमान नै हाे ।’ गत शुक्रबारको बैठकले एसपीपीबारे प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको थियो ।
यो पनि पढ्नुस :