मन्त्री हेरफेरविरुद्ध रहेका एकीकृत समाजवादीका यी ६ सांसदले लिए हस्ताक्षर फिर्ता

मन्त्री हेरफेरविरुद्ध रहेका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । आज (शनिबार) एक विज्ञप्ति जारी गर्दै उनीहरुले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

हस्ताक्षर फिर्ता लिनेहरुमा अहिलेका बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आले सहित ६ जना रहेका छन् । बिहीबार बजेट अधिवेशन चलिरहेको अवस्थामा मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख गर्दै नेकपा एकीकृत समाजवादीका बहालवाला चार मन्त्रीसहित १० जना सांसदले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आठ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।



हस्ताक्षर फिर्ता लिनेहरुमा मन्त्री आलेसँगै कृष्णलाल महर्जन, पुष्पाकुमारी कर्ण कायस्थ , धनबहादुर बुढा,गोपालबहादुर बम र विनादेवी बुढाथोकी रहेका छन् । ‘०७९/३/९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदको समेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं ’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरीविकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ सहित अन्य ६ जना सांसदले हस्ताक्षर गरेका थिए । उनीहरुले आफूहरुलाई पटक–पटक अपराधीलाई जस्तो व्यवहार गरिएको भन्दै असन्तुष्टि पनि जनाएका थिए ।

नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा सरकारमा सहभागी स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेम आले र श्रम तथा रोजगारमन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाउने फिर्ता गर्ने निर्णय गरेको थियो ।

एकीकृत समाजवादीले नयाँ मन्त्रीहरुमा स्वास्थ तथा जनसंख्या मन्त्रीमा भवानी खातुङ, शहरी विकास मन्त्रीमा मेटमणी चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर , संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा जीवनराम श्रेष्ठ र स्वास्थ राज्यमन्त्रीमा हीरा केसीको नाम सिफारिस गरेको थियो । अध्यक्ष माधव कुमार नेपालले यसअघि नै अहिलेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई मन्त्री बनाउने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई नाम सिफारिस गरेर पठाएका थिए । तर, देउवाले बजेट पारित नगरी मन्त्री फेर्न नहुने बताएका थिए ।

यो पनि पढ्नुस :

मन्त्री हेरफेरको विषयमा एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदको असन्तुष्टि (पत्रसहित)

सम्बन्धित समाचार