नेकपा एकीकृत समाजवादीका मन्त्री हेरफेर : आलोपालो मन्त्री बनाउने खेल

अन्तत: लामो रस्साकस्सी पछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा चार मन्त्री र एक राज्यमन्त्रीको नियुक्ति र कार्यविभाजन तोकेकी हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीमा हीरा केसीलाई नियुक्त गरिएको हो ।



एकीकृत समाजवादीद्वारा मन्त्री फिर्ता बोलाउने निर्णय
गत जेठ २२ गते बसेको एकीकृत समाजवादीपार्टीको सचिवालय बैठकले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य राज्यमन्त्री भवानी खापुङलाई फिर्ता बोलाउने निर्णय गरिएको थियो ।

तर देउवाले बजेट पारित नभई मन्त्रिपरिषद् पुनर्गठन गर्न नसकिने बताएका थिए ।  तर, एकीकृत समाजवादीले निरन्तर दबाब दिएपछि अन्तत: प्रधानमन्त्री देउवा  मन्त्रिपरिषद् पुनर्गठन गर्न वाध्य भए । त्यस्तै पार्टीका अध्यक्ष माधव नेपालले मन्त्री हेरफेर नियमित प्रक्रिया रहेको बताएका छन् । ‘यो नियमित प्रक्रिया हो । सुरुदेखि नै ६ महिना भनेर उहाँहरुलाई जिम्मेवारी दिइएको हो’, उनले भनेका छन् । अध्यक्ष नेपालको भनाइलाई विश्लेषण गर्दा मन्त्रीजस्तो जिम्मेवार पदलाई व्यक्ति खुसी बनाउन गरिने खेलजस्तो मात्र ठानिएको बुझिन्छ । यसरी मन्त्रीहरूको कार्यमूल्याङ्कन र प्रभावकारीताको विश्लेषण नगरी आवधिक रूपमा गरिने मन्त्रीहरुको नियुक्तिले मुलुकमा राजनीतिक अस्थिरता र अव्यवस्था निम्त्याउने निश्चित छ।

मन्त्री नियुक्ति भएपछि कसले के भने ?
जीवनराम श्रेष्ठ  : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पदभार ग्रहण गर्ने क्रममा उनले दुईवटा निर्णयमा हस्ताक्षर गरेका छन् । उनले विश्व सम्पदा सूचीमा परेका हनुमानढोका र स्वयम्भूलाई जोड्ने गरी हेरिटेज मार्ग बनाउने निर्णयमा हस्ताक्षर गरेका हुन् । सरकारले यस विषयमा बजेट समेत विनियोजन गरिसकेको छ ।

त्यस्तै श्रेष्ठले कोरोना महामारीमा पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएको भन्दै यस क्षेत्रलाई माथि उठाउने विषयलाई उच्च प्राथमिकता दिएर काम गर्ने निर्णय गरे । यस विषयमा विभिन्न अध्ययन प्रतिवेदन समेत तयार भइसकेको भन्दै उनले ती प्रतिवेदनका आधारमा अब कार्ययोजना नै बनाएर अघि बढ्ने बताए ।

मेटमणि चौधरी  :  नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीले संविधान एवं कानुन अनुसार काम गर्न मन्त्रालय तथा त्यसअन्तर्गतका विभाग र निकायका कर्मचारीलाई निर्देशन दिएका छन् ।

शपथ ग्रहणपछि मन्त्रालयमा पदबहाली गरी कर्मचारीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा व्यक्तिभन्दा कानुन महत्वपूर्ण हुने बताए । कानुनअनुसार चलेमात्र लोकतन्त्र संस्थागत हुने भएकाले पनि त्यसैअनुरुप काम गर्नुपर्नेमा मन्त्री चौधरीले जोड दिएका थिए । ‘व्यक्ति भनेर लाग्दा संविधान बिग्रन्छ, यो विगतमा हामीले देखिसकेका छौँ, सबै जना विधिअनुसार चल्नुपर्छ, जिम्मेवारी र दायित्वअनुसार मुलुक निर्माणमा योगदान गर्नुपर्छ, कर्मचारीले नयाँ मन्त्री आउने बित्तिकै सरुवा हुन्छ भनेर डराउनुपर्दैन, नियोजित रुपमा असहयोग गर्नेलाई भने छोड्न सकिँदैन’, उनले भने ।

भवानीप्रसाद खापुङ  : त्यस्तै नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले  पदभार ग्रहण गर्दै उनले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले जानकारी दिइन् ।

स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पुर्याउन पहलकदमी गर्ने बताए । दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उनको भनाइ रहेको थियो । उनले ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताए । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङ स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन् ।

मन्त्रीहरुलाई माधव नेपालको निर्देशन
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना नयाँ मन्त्रीहरुलाई प्रशिक्षण दिएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई उनले पार्टीको इज्जत राखेर काम गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला ।’

 

सम्बन्धित समाचार