एमाले अध्यक्ष ओली र वामदेव गौतमबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । आज (बिहीबार) बिहान ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो ।

ओलीलाई भेट्न गौतम बालकोट पुगेका थिए । भेटवार्तामा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयासको विषयमा कुराकानी भएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । त्यस्तै गौतमले ओलीलाई ठुलो पार्टीको अध्यक्षको हैसियतले वाम एकता जोड्न पहल गर्न आग्रह गरेका थिए । तर, यस विषयमा ओलीले कुनै प्रतिक्रिया नदिएको गौतमको सचिवालय स्रोतले बतायो ।



वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेपछि ओलीलाई भेटेका हुन् । गत मंगलबार गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा गरेका थिए । त्यस्तै गौतमले ओलीपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गर्ने तयारीमा छन् ।

सम्बन्धित समाचार