सङ्घ र प्रदेशको निर्वाचनको विषयमा यसो भने प्रधानमन्त्री देउवाले

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद् र प्रदेशसभाको निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । सङ्घीय संसद् सचिवालय र पूर्व सांसद मञ्च नेपालले ६४औँ संसद् दिवसका अवसरमा आज(बिहीबार) आयोजना गरेको कार्यक्रममा उनले स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते सफतापूर्वक सम्पन्न भएको र आगामी निर्वाचन स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘संविधानसभाबाट संविधान जारी गरेपछि मुलुक सङ्घीय लोकतान्त्रिक व्यवस्थाबाट अघि बढिरहेको छ’, प्रधानमन्त्री देउवाले भने, ‘स्थानीय तहको निर्वाचन भयरहित, स्वच्छ वातावरणमा सम्पन्न भएको छ, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’



दिगो शान्ति र सुशासन कायम गर्नेतर्फ मुलुक अगाडि बढिरहेको बताउँदै उनले देशलाई विकसित बनाउन सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री देउवाले पूर्व सांसद मञ्चले दलीय राजनीति भन्दामाथि उठेर काम गरिरहेको र सरकारलाई समयसमयमा महत्वपूर्ण सल्लाह दिने गरेकोप्रति कृतज्ञता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले जनताबाट निर्वाचित जनप्रतिनिधि रहेको संसद्ले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई व्यवस्थित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसद् राष्ट्रको आवाज बोल्ने र देशलाई ठीक ढङ्गले अगुवाइ गर्ने थलोका रुपमा विकास भइरहेको बताए ।

उनले सरकार र दलहरूले राम्रोसँग भूमिका निर्वाह गर्न नसकेकाले जनताले निर्दलीय व्यक्तिलाई मत दिएर जिताउने गरेको र देशलाई ठीक ढङ्गले अगुवाइ गर्न नसक्दा फरक परिणाम आउने अवस्था सिर्जना भएको तर्क गरे । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले संसद् सोचेअनुरुप क्रियाशील हुन नसक्दा २०७५ सालदेखि ५३ वटा विधेयक र आठवटा अध्यादेश संसद्मा रहेको बताए ।

उनले नागरिकताजस्तो राष्ट्रिय महत्वको विषयलाई सहमतिबाटै टुङ्ग्याउनुपर्नेमा जोड दिए । पूर्व सभामुख रामचन्द्र पौडेलले जनताको आवाजलाई मुखरित गर्ने र निरङ्कुशताको विरुद्ध लड्ने संसद् सधैँ क्रियाशील हुनुपर्ने बताए । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले पूर्व सांसद मञ्चले संसद्ले गरेका वार्षिक कामको अध्ययन गरेर थप क्रियाशील बनाउनुपर्ने सुझावसमेत दिए ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले २०१६ साल असार १६ गते तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहले निर्वाचत संसद्को पहिलो बैठक बसेको र त्यही दिवसका अवसरमा प्रत्येक वर्ष यो दिवस मनाउन लागेको जानकारी दिए । रासस

सम्बन्धित समाचार