नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।
नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी सबै मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गरे लगत्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि सरकारमा सहभागी सबै बहालवाला मन्त्रीलाई फिर्ता बोलाएको छ ।
सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको पार्टीको कार्यलय सचिव प्रकाश अधिकारी जानकारी दिए । त्यस्तै नयाँ मन्त्री गृहकार्य भइरहेको र क-कसलाई पठाउने भन्ने विषयमा टुंगो नलागेको अधिकारीले बताए ।
यसअघि सोमबार राति बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षीय कार्यकारिणी समिति बैठकले पनि मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरेको हो । हाल सरकारमा जसपाका चार मन्त्री रहेका छन् । यस्तै बैठकले नयाँ मन्त्री छान्ने जिम्मा पनि उपेन्द्रलाई दिने निर्णय गरेको थियो ।
जसपाबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन् ।