वाम एकताको लागि वामदेव गौतमको राजनीतिक दौडधूप, ओली मौन बस्दा प्रचण्ड र माधव नेपाल भने सकारात्मक

वामदेव गौतमले ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ पार्टीको घोषणा गरेसँगै राजनीतिक दौडधूप बढाएका छन् । एमाले छोडेर विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका गौतमले विहीबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने लक्ष्यसाथ अघि बढेका गौतमले त्यस अभियानमा आफू सफल हुने बताएका छन् ।

त्यस्तै उनले आफ्नो राजनीतिक भेटघाट जारी रहने भन्दै वाम एकताको विषयमा सबै नेताहरु सकारात्मक रहेको बताएका छन् । गौतमले ओली, प्रचण्ड र नेपालसँग लिखित प्रस्ताव नै बुझाएका छन् । गौतमले तीनैजना नेताहरुसंग वाम एकता र एकता सम्भव नभए चुनावमा तालमेलको प्रस्ताव राखेका छन् ।  ‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत बनाउने सवालमा हामी सवै सहमति नजिक छौ’, गौतमलाई उद्धृत गर्दै प्रवक्ता निमकान्त पाण्डेले भने ।



वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
वामदेव गौतमले गत मंगलबार एक पत्रकार सम्मेलन गर्दै ‘नेकपा एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका गौतम पार्टीको संयोजक बसेका छन् भने ७५ सदस्यीय केन्द्रीय सदस्य रहेका छन् ।

पार्टी समन्वय समितिको रुपमा रहँदासम्म केन्द्रीय सचिवालयमा ८ सदस्यहरु रहने व्यवस्था गरिएको छ । पार्टीको संयोजकमा वामदेव गौतम, सचिवमा डीबी कार्की र सदस्‍यहरुमा ओमशर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल  रहेका छन् । पार्टीले संयोजक र सचिवबाहेक सबैजना सदस्यको रुपमा रहने जनाएको छ ।

‘दैनिक पार्टी निर्माणका लागि स्थायी कमिटी निर्माण हुनेछ, जसमा १५ जना नबढ्ने गरी सदस्यहरु रहने छन्’ गौतमले भने, ‘यो पार्टी बहुपदीय प्रणालीमा जानेछ । तदनुरुप पार्टीमा एक अध्यक्ष, सातै प्रदेशमा इन्चार्जको जिम्मेवारी वहन गर्ने गरी ७ उपाध्यक्ष, संगठनात्मक कामको मूख्य जिम्मेवारी पूरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिनेछ ।’

पार्टीमा विभिन्न पाँच साना कम्युनिष्टहरु समावेश भएका छन् । निर्वाचन आयोगमा दर्ता भएको समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाल पार्टी र स्वतन्त्र बामपन्थी समूह मिलेर पार्टीको घोषणा भएको हो ।

पार्टी घोषणा गरेपछि यसो भने गौतमले
पार्टी घोषणा कार्यक्रममा उनले स्थानीय निर्वाचनमा काँग्रेस पहिलो शक्ति भएको र अब पनि कम्युनिष्ट पार्टीहरुले कार्यगत एकता गर्न नसके आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसले बहुमत प्राप्त गर्ने बताए । उनले भने ‘आज पार्टी शिलान्यास गरेको छु, मैले उद्घाटन गर्ने बेलामा नेपाल चकित हुने अवस्था सिर्जना हुनेछ ।’ नेकपा विभाजनपश्चात् छुट्टै अभियानमा रहेका नेता गौतमले नेकपालाई पुनर्जीवित गर्ने र आफू पनि एकीकरण हुने अवस्था नबनेपछि नयाँ दल गठन गर्नुपरेको बताए । उनी एमाले छोडेर विभिन्न समूहमा विभाजित कम्युनिष्ट पार्टीहरुका बीचमा एकीकरण हुनुपर्ने अभियानमा लागेका छन् ।

क-कसलाई भेटे  ?
गौतम र ओलीबीच भेटवार्ता :
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच भेटवार्ता भएको छ । विहीबार बिहान ओली निवास बालकोटमा दुई नेताबीच भेटवार्ता भएको हो ।

ओलीलाई भेट्न गौतम बालकोट पुगेका थिए । भेटवार्तामा वाम एकीकरण, एकीकरण नभए चुनावी मोर्चा निर्माण गर्ने प्रयासको विषयमा कुराकानी भएको नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले जानकारी दिए । त्यस्तै गौतमले ओलीलाई ठुलो पार्टीको अध्यक्षको हैसियतले वाम एकता जोड्न पहल गर्न आग्रह गरेका थिए । तर, यस विषयमा ओलीले कुनै प्रतिक्रिया नदिएको गौतमको सचिवालय स्रोतले बतायो । ‘तत्कालिन नेकपा विभाजन भएपछि सबैभन्दा ठुलो पार्टी अध्यक्ष तपाई नै हुनुहुन्छ । तपाईले नै वाम एकता जोड्न पहल गर्नुस्, त्यसपछि मात्रै माहोल बन्दै जान्छ’ भनेर वामदेव गौतमले प्रस्ताव राखेका थिए । गौतमको सचिवालय स्रोतले भन्यो- ‘त्यसमा केपी कमरेडले खासै प्रक्रिया दिनुभएन । बरु विगतका कुरा गरेर  फर्किनुभयो ।’ वामदेव गौतमले नयाँ पार्टीको घोषणा गरेपछि ओलीलाई पहिलोपटक भेटेका हुन् ।

प्रचण्ड र गौतमबीच भेटवार्ता :
त्यस्तै विहीबार नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वामदेव गौतमबीच भेटवर्ता भएको थियो ।  प्रचण्डलाई भेट्न गौतम खुमलटार नै पुगेका थिए ।  भेटमा वाम एकता र नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने विषयमा कुराकानी भएको प्रवक्ता निमकान्त पाण्डेले बताए । यस विषयमा प्रचण्डले सकारात्मक प्रतिक्रिया दिएको पाण्डेले बताए ।

गौतम र माधव नेपालबीच भेटवर्ता :
यसैगरी गौतमले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि भेटेर  वाम एकता र एकता सम्भव नभए चुनावमा तालमेलको प्रस्ताव राखेका थिए ।  उक्त प्रस्तावमा नेपालले पनि सकारात्मक जवाफ दिएको भन्दै सबै विकल्पमा तयार रहेको जानकारी दिएको प्रवक्ता पाण्डेले बताए ।

पाण्डेले गौतमको प्रस्तावमा प्रचण्ड र माधव कमरेड तयार रहेपनि ओली भने मौन रहेको जानकारी दिए ।

तीनैजना नेताहरुसँग गौतमको भेटले वाम एकता र नेपाली कम्युनिस्ट आन्दोलनलाई एकीकृत हुने सम्भावना प्रवल रहेको मान्न सकिन्छ ।  तर एमाले अध्यक्ष ओली यस प्रस्तावमा मौन देखिएकोले वाम एकता हुनेमा शंका उब्जिएको छ । यता ओली भने वाम एकता भन्दा पनि गठबन्ध भत्काउने योजनामा रहेका छन् । आसन्न संघीय र प्रदेशसभा निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धन कायम रहे नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र जनमत पार्टी मिलेर अर्को गठबन्धन बनाउने तयारी भइरहेको बुझिएको छ ।

सम्बन्धित समाचार