एमाले केन्द्रीय सचिवालयको बैठकले गर्यो यस्तो निर्णय

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठकले स्थानीय तह निर्वाचनको समीक्षा र सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालनका लागि पार्टीका नेताहरुलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ । आइतबार सम्पन्न एमालेको केन्द्रीय सचिवालयको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले प्रशिक्षणका लागि प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, बाग्मती प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनी प्रदेशमा उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, कर्णाली प्रदेशमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवालीलाई संयोजनको जिम्मेवारी दिएको हो ।



एमालेका उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले व्यापक र चौतर्फी घेराबन्दीबीच गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा पार्टी पहिलो शक्तिका रूपमा स्थापित हुनसकेको निष्कर्ष निकालिएको जानकारी दिए । बैठकले स्थानीय तहको निर्वाचनमा पार्टी विरोधी गतिविधि गर्ने आफ्ना नेता कार्यकर्तामाथि छानबिन र कारबाहीका लागि उपाध्यक्ष विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । समितिको सदस्यमा पार्टीका सङ्गठन विभाग प्रमुख खगराज अधिकारी र निर्वाचन विभाग प्रमुख विष्णु रिमाल रहेका छन् । स्थानीय निर्वाचनका क्रममा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने नेता कार्यकर्ता विरुद्ध पार्टीमा उजुरी परेको थियो ।

सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका केन्द्रीय प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । स्थानीय निर्वाचनका क्रममा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने नेता कार्यकर्ता विरुद्ध पार्टीमा उजुरी परेको थियो । बैठकले स्थानीय निर्वाचनको विस्तृत समीक्षा, विद्यमान शक्ति सन्तुलनको विश्लेषण गर्ने, आफ्नो सरकारका राम्रा कामका प्रचार र वर्तमान सरकारले जनतालाई असर पार्ने निर्णयकको भण्डाफोर गर्ने निर्णय पनि भएको उपमहासचिव गुरुङले बताए । बैठकले विभिन्न केन्द्रीय विभागका सचिवमा मनोनयन र केही नयाँ विभागसमेत गठन गरेको छ ।

सचिवको जिम्मेवारी पाउनेमा वित्त तथा कोष व्यवस्थापन विभागमा डा भीष्म अधिकारी, सङ्गठन विभागमा सम्झना देवकोटा, प्रचार तथा प्रकाशन विभागमा गगन विष्ट, स्थानीय तह विभागमा हर्क राई, परराष्ट्र मामिला विभागमा अन्जान शाक्य, सङ्घीय मामिला विभागमा शिव गुरूङ, ऊर्जा तथा जलस्रोत विभागमा पुष्पज्योति ढुङ्गाना, अर्थ तथा योजना विभागमा योगेन्द्र शाही, कानून विभागमा डिल्लीराम मैनाली, उपभोक्ता हित संरक्षण विभागमा मोहनी खनाल, श्रम तथा रोजगार विभागमा जनक चौधरी, संसदीय मामिला विभागमा डा सूर्य पाठक, सामाजिक सेवा विभागमा डा नेत्रप्रसाद तिमिल्सिना र संस्कृति विभागमा राजेश थापा मनोनयन भएका छन् ।

सम्बन्धित समाचार