नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असार ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या शून्य रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ३ हजार १० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १ हजार ८४७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज १९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ६७ हजार ५३५ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३४८ रहेको छ । जसमध्ये ३४४ जना होम आइसोलेसनमा रहेका छन् भने ४ जना संस्थागत आइशोलेशनमा, ४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ९ लाख ७९ हजार ८३५ र एन्टिजेन विधिबाट १ लाख ४० हजार ५१९ जना पुगेको छ ।