राजनीतिलाई विकृत बनाउँदै दल : पार्टी भागवण्डा मिलाउन सत्ताको दुरुपयोग

प्रधानमन्त्री शेरबहादुर देउवाले एक हप्ताको अन्तरालमा दोस्रो पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मन्त्री हेरफेर गरेको एक हप्ता नबित्दै सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु हेरफेर गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तीन मन्त्रीको नियुक्ति र कार्यविभाजन गरेकी हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा जसपाबाट कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरिएको हो । जसपाले तीनजना मन्त्रीलाई फिर्ता बोलाउँदै  ३ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।



जनता समाजवादीद्वारा मन्त्री फिर्ता बोलाउने निर्णय
जसपाले सोमबार भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र राय यादव र वनमन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको हो । यद्यपि जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ । अध्यक्ष उपेन्द्र यादवले आइतबार राति नै ३ जना नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका हुन् । जसपाले तीनजना नयाँ मन्त्रीमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह रहेका छन् । जसपाले राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषिमन्त्रीका रुपमा सिफारिस गरेको थियो । यसअघि बसेको कार्यकारिणी समितिको बैठकले मन्त्री हेरफेरको निर्णय गर्ने अधिकार यादवलाई दिएको थियो ।

मन्त्री नियुक्ति भएपछि कसले के भने ?
मोहम्मद इस्तियाक राई : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पदभार गर्ने क्रममा इम्बोस्ड नम्बर प्लेट र स्मार्ट लाइसेन्स वितरणको औचित्य र त्यसको सुधारका लागि अध्ययन गर्न समिति बनाउने निर्णय गरेका छन् । उनले  इम्बोस्ड नम्बर आउनुभन्दा पहिले त्यसलाई सञ्चालन कसरी गर्ने भन्ने मेकानिजम बनाइने बताएका छन् ।

‘इम्बोस्डका लागि विभिन्न कामहरूमा विरोधाभास छँदै छ । त्यसको पनि रिड गर्ने मेकानिजम छैन अहिलेसम्म,’ राईले भने, ‘मेकानिजम तयार नपारी केका लागि किन ल्याइयो ? जबर्जस्ति लागू गर्न खोजियो त्यसमा पनि विवाद आइरहेको छ ।’ उनले स्मार्टलाइसेन्स र इम्बोस्ड नम्बर प्लेटको सन्दर्भमा देखिएको समस्या समाधानका लागि सुझाव दिन मन्त्रालयका सहसचिवको नेतृत्वमा २ वटा कार्यदल गठन गर्ने पहिलो निर्णय गरी मस्यौदा बनाउन निर्देशन दिएका छन् ।

उनले दुईवटै कार्यदललाई प्रतिवेदन बुझाउन १५ दिनको म्याद दिएको पनि बताए ।  त्यस्तै उनले असारे विकासलाई रोक्नुपर्ने पनि बताएका छन् । मन्त्री राईले ड्राइभिङ लाइसेन्स वितरणमा भइरहेको ढिलाइको विषयमा कर्मचारीहरूबाट जानकारी लिएका छन् ।

मृगेन्द्र यादव : नवनियुक्त कृषिमन्त्री मृगेन्द्र यादवले पदबहाली गर्दै आफ्नो पहिलो प्राथमिकता रासायनिक मल अभाव पूर्ति गर्ने रहेको बताएका छन् । मन्त्री यादवले आफ्नो पहिलो प्राथमिकता कृषि मन्त्रीको पहिलो प्राथमिकता किसानहरुलाई रासायनिक मल सुलभ तरिकाले उपलब्ध गराउने बताएका हुन् । उनले भने, ‘ मल समयमा किन नआएको हो, यसका कारण के-के हुन् ?, किसानहरुलाई रासायनिक मल सुलभ तरिकाले उपलब्ध गराउने मेरो पहिलो प्रथामिकता हुन्छ ।’

विभाजनको संघारमा जसपा
जनता समाजवादी पार्टी (जसपा) विभाजनको संघारमा पुगेको छ । केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच मतभेदको कारण जसपा विभाजनको संघारमा पुगेको हो ।  यद्यपि यादव र भट्टराईबीच यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् ।

यादवले आफूखुसी मन्त्री हेरफेर गरेपछि भट्टराईले त्यसलाई रोक्ने प्रयास गरेका थिए । भट्टराईले त्यसमा आफ्नो सहमति नभएको भन्दै मन्त्री नियुक्त नगर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए । तर, प्रधानमन्त्री देउवाले भट्टराईको आग्रह अस्वीकार गर्दै मन्त्री हेरफेर गरेपछि पार्टीमा थप विवाद बढेको हो । पार्टी विवाद चर्किएपछि आगामी असार २७ र २८ गते वीरगन्जमा यादव समूहले केन्द्रीय समितिको बैठक बोलाएका छन्  भने यता भट्टराई समूहले आगामी असार २९ र ३० गते केन्द्रीय कमिटीको विस्तारित बैठक बोलाएका छन् । यहीं बैठकबाट जसपा विभाजन हुने अनुमान लगाउन सकिन्छ ।

मन्त्री हेरफेरको खेल अहिले फोहोरी राजनीतिको रुपमा परिभाषित भएको छ । यसअघि नेकपा एकीकृत समाजवादीले पनि मन्त्री हेरफेर गरेको थियो । यसरी ६-६ महिनामा मन्त्री हेरफेर गर्ने निर्णयले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याउने छ । मन्त्रीहरूको कार्यमूल्याङ्कन र प्रभावकारीताको विश्लेषण नगरी आवधिक रूपमा गरिने मन्त्रीहरुको नियुक्तिले नेपालको राजनीतिलाई फोहोरी बनाएको मान्न सकिन्छ । त्यस्तै दलहरु राजनीतिलाई विकृति बनाउँदै पार्टी भागवण्डा मिलाउन सत्ताको दुरुपयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचार