नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ असार ।
क्यानडा टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो एकदिवसीय खेलमा घरेलु टोली क्यानडाविरुद्ध खेल्दैछ । आज (बुधबार) क्यानडाको किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।
यी दुई टोलीबीचको पहिलो एकदिवसीय भने निरन्तरको वर्षाका कारण रद्द भएको थियो । नेपाल दोस्रो एकदिवसीय खेलमा घरेलु टोली क्यानडालाई पराजित गर्दै सिरिज आफ्नो पक्षमा पार्ने योजनाका साथ मैदान उत्रदैछ भने घरेलु टोली क्यानडा पनि पाहुना टोली नेपाललाई हराउने योजनामा रहेको छ ।
यसअघि नेपालले क्यानडाको स्थनीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलेको थियो । जसमा दुबै खेलमा नेपाल विजयी भएको थियो । नेपाल क्यानडाबाट नै विश्वकप क्रिकेट लिग -२ को लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । क्यानले यसअघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग, दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १६ खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने २० खेल खेलेको स्कटल्याण्ड २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थनमा रहेको छ ।