नेपाल क्यानडासँग पराजित

क्यानडा टुरमा रहेको नेपाल क्यानडाविरुद्धको दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पराजित भएको छ । बुधबार राति भएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको हो ।

क्यानडाको किङ सिटी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । क्यानडाका लागि श्रेयस मोभाले ५० रनको अर्धशतकीय पारी खेले भने आरोन जोनसनले ४४ रन बनाए । त्यस्तै अमर खालीद ३० रनमा अविजित रहँदा उदयवीर सिंहले १६ र अखिल कुमारले १२ रन जोडे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा बसिर अहमेद, किशोर महतो,करण केसी र आदील आलमको भागमा समान १-१ विकेट रह्यो ।



१८९ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३९ ओभर २ बलमा अलआउट हुँदै १०५ रनमा समेटिएको थियो । नेपालका लागि देव खनालले २६ रन बनाए भने पवन सर्राफले १४ रन जोडे । यस्तै विनोद भण्डारी, बसिर अहमेद र आदील आलमले समान १३-१३ रन बनाए । क्यानडाका लागि अमर खालीद, सलमान नजर, रोमेल साहजाद, साद बिन जफर र हर्ष थाकेरले समान २-२ विकेट लिए ।

जितसँगै क्यानडाले दुई खेलको सिरिज १-० ले आफ्नो पक्षमा पारेको छ । दुई एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो । यसअघि नेपालले क्यानडाको स्थनीय क्लब ओन्टारियोसँग दुई अभ्यास खेल खेलेको थियो । जसमा दुबै खेलमा नेपाल विजयी भएको थियो । नेपाल क्यानडाबाट नै विश्वकप क्रिकेट लिग -२ को लागि स्कटल्याण्ड प्रस्थान गर्नेछ । नेपालले सिरिजमा स्कटल्याण्ड र नामिबिया विरुद्ध खेल्नेछ । क्यानले यसअघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

नेपालले पहिलो खेल जुलाई ११ मा नामिबियासँग, दोस्रो खेल जुलाई १३ मा स्कटल्याण्डसँग, तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ मा र चौथों तथा अन्तिम खेल जुलाई १७ मा स्कटल्याण्डसँग खेल्ने तालिका छ । नेपाल १६ खेलबाट १५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ भने २० खेल खेलेको स्कटल्याण्ड २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यसैगरी १४ खेलमा १४ अंक जोडेको नामिबिया छैटौं स्थनमा रहेको छ ।

 

सम्बन्धित समाचार