विराटनगर महानगरकी पूर्वउपप्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दिरा कार्कीसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले विराटनगर महानगरपालिकाका उपप्रमुख कार्कीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी, सहरी विकास महाशाखा प्रमुख इन्जिनियर गोपाल पोखरेल, इन्जिनियर पुष्पक प्रधान र सव–इन्जिनियर मो. इफतेखार आलम, पोखरीमा पार्क निर्माण कार्यका उपभोक्ता समितिका अध्यक्ष बलदेव शाहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरे तथा वडा नं. १५का तत्कालीन वडा अध्यक्ष असलम आलमसहित ९ जनाविरुद्ध विशेष अदालतमा विगो मागदाबीसहित आरोपपत्र दायर गरेको हो ।



विराटनगर महानगरपालिका– १५ स्थित रानी हेल्थपोष्ट नजिकैको पोखरीमा पार्क (सिँढी) निर्माण कार्यमा उपभोक्ता समितिबाट वास्तविक रुपमा भए गरेको कार्यभन्दा बढी विवरण नापी किताबमा चढाई अनियमितता गरेको आरोप लागेको छ । उपभोक्ता समितिका अध्यक्ष बलदेव साहु सुडी, सचिव दिनानाथ आचार्य र कोषाध्यक्ष कल्पना घिमिरेलेमाटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदन तयार गरी महानगरपालिकामा पेस गरेको, झुट्टा डोरहाजिर, गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरी सो कागजातहरु स्वीकृत गरी १० लाख ५५ हजार ९७९ रूपैयाँ ४८ पैसा भ्रष्टाचार गरेको अख्तियारको आरोप छ ।

त्यस्तै विराटनगर महानगरपालिकाका तत्कालीन उपप्रमुख इन्दीरा कार्की र विराटनगर महानगरपालिका– १५ का तत्कालीन वडा अध्यक्ष असलम आलमले पोखरीमा पार्क निर्माण माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई माटो फिलिङको काम ज्यामीद्वारा गर्नुपर्ने गरी लागत अनुमान तयार भए पनि रोलर मेसिनबाट गरिएको कामलाई अनुगमन प्रतिवेदनमा उल्लेख नगरी गलत मूल्याङ्‍कनका आधारमा हानी पुर्‍याएको ठहर गर्दै आयोगले उनीहरुलाई पाँच लाख आठ हजार ६६९ रुपैयाँ ८८ पैसा बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुलउपरको मागदाबी गरेको छ ।

सम्बन्धित समाचार